अन्तरजातीय विवाहको निहुँमा घरमा आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता

अन्तरजातीय विवाहको निहुँमा घरमा आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता

कहिरन समाचार

जुम्ला । जुम्लामा अन्तरजातीय विवाहको निहुँमा केटाको घरमा आगजनी गर्ने हिम्मत गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा आगजनी गरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाहरूले दबाबमा प्रहरीले आगो लगाउने गिरीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आफ्नी बहिनीलाई भगाएर बिहे गरेको भन्दै तातोपानी गाउँपालिका–४ का गिरीले आइतबार बिहान ४ बजे सोही गाउँका मुकुन्द नेपालीको घरमा आगो लगाइदिएका थिए ।

उनलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएको थियो । हिम्मतसँगै केटीका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध पनि किटानी जाहेरी दर्ता भएको छ । त्यसक्रममा उनले आफूले रिसको झोंकमा आएर आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् ।

उनीविरुद्ध ‘आपराधिक उपद्रव र जातजातिका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक राजु सार्कीले जानकारी दिए ।

दुई वर्षको प्रेम सम्बन्धपछि एकै गाउँका मुकुन्द नेपाली र बसन्ती गिरीले भागेर विवाह गरेका थिए । उनीहरूले भागेर विवाह गरेको ४ दिनपछि केटीका दाजु हिम्मतले मुकुन्दको घरमा आइतबार बिहान आगो लगाइदिएका हुन् । घरमा कोही नभएका कारण मानवीय क्षति नभएपनि घर पूर्णरुपमा जलेको छ ।