नेपालमा बर्षेनी २ हजार बालबालिकामा क्यान्सरको संक्रमण

नेपालमा बर्षेनी २ हजार बालबालिकामा क्यान्सरको संक्रमण

कहिरन समाचार

काठमाडौं । नेपालमा हरेक बर्ष २ हजार बालबालिकामा क्यान्सर रोग देखिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सयदेखि २ हजार बालबालिकामा क्यान्सर देखिने गरेको जानकारी दिए ।

बाराकोटीले त्यसको एक तिहाई मात्र उपचारका लागि अस्पताल पुग्ने गरेको बताए । बिहीबार कान्ति बाल अस्पतालले धुलिखेलमा गरेको बालबालिकामा हुने क्यान्सर सम्बन्धी कार्यशालामा बाँकी बालबालिकाको खोजी गरेर उपचारमा ल्याउनु पर्ने अहिलेको प्रमुख चुनौती रहेको उनले बताए ।

कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाका लागि समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताए । बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु सबैको सामूहिक दायित्व भएकाले सरकारले आफ्नो दायित्व पुरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको मन्त्री बस्नेतको भनाई थियो ।

यस्तै औषधि व्यवस्था विभागले औषधिको गुणस्तरमा शंका लागे परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै बिक्री वितरण गर्न अनुरोध गरेका हुन् ।

औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।