दाइजो नदिएको झोकमा श्रीमती र छोरीको हत्या

दाइजो नदिएको झोकमा श्रीमती र छोरीको हत्या

कहिरन समाचार

रौतहट । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका ४ बौधा पतौराका २४ वर्षीया कविता साह र उनकी डेढ वर्षकी छोरी आरोहीको हत्या भएको हो ।

पति धिरेन्द्र साह र उनका परिवारका सदस्यले कुटपीट गरी हत्या गरेको कविताको माइती पक्षले आरोप लगाएको छ । घटनापछि धिरेन्द्र र उनका बुवा नागेन्द्र साह फरार रहेका छन् । परिवारका सदस्यले निर्ममतापूर्वक कुटपीट गरी मारेको भनेर छिमेकीले फोन गरेपछि कविताका बुबा विजयशंकर घटनास्थल पुगेका थिए ।

विवाह अघि कबोल गरेको दाइजो दिन नसकेका कारण छोरीलाई यसअघि पनि यातना दिने गरेको भन्दै कविताका बुबा विजयशंकरले दाइजोकै कारण हत्या भएको दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । फरार रहेका मृतक कविताका श्रीमान र ससुराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।