सात अस्पतालमा दुई हजार २८ वटा जनरल बेड निःशुल्क

सात अस्पतालमा दुई हजार २८ वटा जनरल बेड निःशुल्क

कहिरन समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि देशभरका विभिन्न सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि २०२८ वटा शय्या (बेड) निःशुल्क हुने भएको छ ।

बिहीबारदेखि कान्ति बाल अस्पतालले २४८ शैया, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, राष्ट्रिय ट्रमा सेन्टरले १५० र शहीद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय भएको छ ।

वीर अस्पतालले सात सय शैया र कोशी अस्पतालले तीन सय ३० शैया निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरी सेवा दिइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, सरकारी अस्पतालका क्याबिन र आईसीयू शैयामा भने शुल्क लाग्नेछ ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले देशभरका अस्पतालको जनरल बेड निशुल्क गर्दै जाने बताए । उनले निजी अस्पताललाई पनि जिम्मेवार भई नियम अनुसार कूल शैयाको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउन आग्रह पनि गरे ।

‘अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्न केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले ब्यहोर्छ’, मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुसँग भने, ‘स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन मिल्दैन । सबै अस्पतालहरुको स्तरोन्नतिदेखि सबैको उपचारमा पहुँच योग्य बनाउने पहिलो प्राथमिकता हो ।’

उपचारका लागि विपन्न, असहाय, वेवारिसे पहिचानका लागि भने २७ जिल्लामा वितरण भएको परिचयपत्रलाई आधार मानिने मन्त्रालयले स्पष्ट पारेको छ । अन्य जिल्लाहरुमा भने वडा कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार गरिने मन्त्रालयका प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले बताए ।