ललिता निवास प्रकरण: ४०६ जना कारवाहीको सूचिमा, हदम्याद लागू नहुने

ललिता निवास प्रकरण: ४०६ जना कारवाहीको सूचिमा, हदम्याद लागू नहुने

कहिरन समाचार

काठमाडौं । नक्कली मोही खडा गरेर ललिता निवासको सरकारी जग्गा खान खोज्ने ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ ।

सिआइबीले जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना सहित बिभिन्न चार चरण गरेर जग्गा हडप्न खोज्ने ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पत्रकार सम्मेलन गर्दै १४३ रोपनी जग्गा हडप्न खोजिएको देखिएको सीआईवीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

प्रहरीले चलाएको बिषेश अप्रेशनका क्रममा मंगलबार पक्राउ परेका ललिता निवास जग्गा प्रकरणका सातमध्ये चार आरोपीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍अदालतले अनुमति दिएको हो ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवम् अवकाशप्राप्त सहसचिव कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसी अदालतको स्टे अर्डर जारी भएपछि मंगलबार नै रिहा भएका थिए ।

सिआइबीले मंगलबार म्याद थपका लागि आरोपीलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेको थियो । ब्युरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी किरण बज्राचार्यले यसप्रकरणमा हदम्याद लागु नहुने भन्दै प्रमाणका आधारमा अपराधमा कारर्बाही हुने बताए ।

जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजङ्ग कम्पनीका नाममा दर्ता रहेको ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।