हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद, १२ जना पक्राउ

हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद, १२ जना पक्राउ

कहिरन समाचार

काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३१ पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको हो ।

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई एलएसडीसहित पक्राउ गरेको थियो भने उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट बचन भन्ने राज गौतम र उनकी प्रेमीका चेक रिपब्लिकन नागरिक मार्टिन सेरना पक्राउ परेका हुन् ।

उनीहरुको बयानकै आधारमा गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई ठमेलबाटै पक्राउ गरिएको जोशीले बताए । उनका अनुसार एलएसडी सहित अन्य लागुऔषधहरुसमेत बरामद गरिएको छ ।

बरामद गरिएको एलएसडीको परिमाण हालसम्मकै सबैभन्दा ठूलो रहेको ब्युरोले जनाएको छ । एलएसडी कारोबारमा संलग्नहरुको अनुसन्धानका क्रममा पाँचै जनासहित पक्राउ परेका अन्य १२ जनालाई ब्यूरोले आज गरेर सार्वजनिक गरेको हो ।

एलएसडी केमिकलमा आधारित हेलोजेनिका अर्थात् भ्रमित पार्ने हार्ड ड्रग भएकाले प्रयोगकर्तामा त्यसको गम्भीर असर पर्ने प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । नेपालमा बरामद एलएसडीको बजार मूल्य दुई करोड २ लाख ६२ हजार अवैध बजार मूल्य रहेको छ ।