गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न निर्देशन

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न निर्देशन

कहिरन समाचार

काठमाडौं । संसदीय समितिले सडकमा गोलभेडा फोलेको घटना छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले घटनामा संलग्नउपर छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सुझाव दिएको हो । ‘यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ? घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन ?’ समितिको बैठकले गरेको निर्णयमा लेखिएको छ ।

समितिले कानुनबमोजिम सम्बन्धित निकायबाट छानविन गराई प्रतिवेदन पठाइ गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको छ । बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ ।

बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेँडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा विचौलिया व्यवसायीले गोलभेँडा सडकमा नष्ट गरेको उपभोक्ताको आरोप छ ।