नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थप

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थप

कहिरन समाचार

काठमाडौं । काठमाडौंबाट उपत्यका बाहिर जाने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो ।

यसअघि काठमाडौँभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोङ्गबु र कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रो बस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।

काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरूपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोंगबु, कलंकी र चाबहिल क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए ।

महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माइक्रो बस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रो बस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ । नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । यसअघि काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बीपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौंडा चल्ने टाटा सुमो सञ्चालन हुँदै आएका थिए ।