वीर अस्पतालमा ‘ब्रेन ट्युमर केन्द्र’ स्थापना

वीर अस्पतालमा ‘ब्रेन ट्युमर केन्द्र’ स्थापना

कहिरन समाचार

काठमाडौं । वीर अस्पतालमा ‘राष्ट्र्रिय ब्रेन ट्युमर केन्द्र’ स्थापना गरिएको छ । चिकित्सा विज्ञान राष्ट्र्रिय प्रतिष्ठानअन्तर्गतको वीरको स्नायु शल्यक्रिया विभागमा उक्त केन्द्र स्थापना गरिएको हो ।

ब्रेन ट्युमरका बिरामीलाई एकै ठाउँमा सबै किसिमको उपचार उपलब्ध गराउन स्थापना भएको उक्त केन्द्रमा ब्रेन ट्युमरको शल्यक्रियासँगै स्नायु चिकित्सक, क्यान्सर विज्ञ उपलब्ध हुनेछन् । गत बिहीबारदेखि सञ्चालनमा आएको केन्द्रमा बिरामीले सीटी, एमआरआई, रेडियसन, किमो, थेरापी, विभिन्न परीक्षणसहित चिकित्सा सेवासमेत पाउनेछन् ।

ब्रेन ट्युमर मस्तिष्कमा असामान्य कोषिकाको वृद्घि हुनु हो । ब्रेन ट्युमर भए सामान्यतयाः अत्यन्त टाउको दुख्ने, रिंगटा लाग्ने, शरीरमा असन्तुलन जस्ता समस्या देखिन्छन् ।

‘परीक्षणका लागि एउटा रोगीले १० ठाउँमा धाउनुपर्ने अवस्थाको अन्त गर्न र सहज रूपमा उपचार पाउन राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेका हौं,’ अस्पतालका स्नायु शल्यक्रिया विभागका प्रमुख प्रा.डा.राजीव झाले भने, ‘देशभरिका अस्पतालसँग समन्वय गरेर तथ्यांक संकलन गर्ने र यसलाई सर्वसाधारणका लागि उपलब्ध गराउनु केन्द्रको उद्देश्य हो ।’

डा. झाका अनुसार केन्द्रले ब्रेन ट्युमरको उपचार गर्ने तथा यो रोगबारे जनचेतना फैलाउनेसमेत काम गर्नेछ । मुलुकमा अधिकांश ब्रेन ट्युमरका बिरामी आँखा देख्न छाडेपछि, कान सुन्न नसकेपछि, बोल्न नसक्ने भएपछि, दिसा, पिसाब गरेको थाहा नपाउने भएपछि, विभिन्न किसिमको पक्षघातको लक्षण देखिएपछि वा छारेरोग भएपछि अस्पताल पुग्ने गरेको डा. झाको भनाइ छ ।

नेपालमा ब्रेन ट्युमरको अवस्थाबारे हालसम्म कुनै बृहत् अध्ययन–अनुसन्धान भएको छैन । वीरको स्नायु शल्यक्रिया विभागमा दैनिक आउने बिरामीमध्ये ५ देखि ८ जना ब्रेन ट्युमरका बिरामी हुने गरेका छन् ।