स्वर्गद्वारी दर्शन गरेर फर्कदा प्यूठानमा कार दुर्घटना, आठ जनाको मृत्यु

स्वर्गद्वारी दर्शन गरेर फर्कदा प्यूठानमा कार दुर्घटना, आठ जनाको मृत्यु

कहिरन समाचार

काठमाडौं । प्युठानमा जीप दुर्घटना हुँदा चार बालबालिकासहित ८ जना तीर्थ यात्रीको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गरेर फर्कने क्रममा लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काका अनुसार मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गर्दा दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको हो । मृत्यु भएका सबै दाङवासी हुन् ।

मृत्यु हुनेमा चालक लमही नगरपालिका ५ का तारा कुमाल, लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् ।

यस्तै, तुल्सीपुर १५ कोठरीका ३५ वर्षकी सरिता शर्मा पोखरेल, उनका छोराहरु १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल रहेका छन् । अर्का एक करिब ११ वर्षिय बालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतकहरुको शव जिल्ला अस्पताल प्युठानमा राखिएको छ । मृतकका आफन्त आएपछि शव बुझाइने डिएसपी खड्काले बताए ।