एक वर्षमा १६ जिल्लामा फैलियो दादुराको प्रकोप

एक वर्षमा १६ जिल्लामा फैलियो दादुराको प्रकोप

कहिरन समाचार

काठमाडौं । नेपालमा एक वर्षमा १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा देशभरका १६ जिल्लामा दादुराको प्रकोप फैलिएको छ ।

दादुराको प्रकोप फैलिएसँगै सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने लक्ष्यमा सरकार असफल भएको छ । सन् २०२३ सम्म दादुरामुक्त घोषणा गर्ने सरकारको तयारी भएकै वर्ष तीव्र गतिमा दादुरा संक्रमण फैलिएर चुनौती थपिएपछि अब सरकारले सन् २०२६ सम्म नेपाललाई दादुरा तथा रुबेलामुक्त देश बनाउने लक्ष्य लिएको छ ।

सन् २०२३ मा नेपालमा दादुरा रुबेलाको अन्त्य गर्ने लक्ष्य राखिएको भएपनि १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा ‘आउट ब्रेक’ भएको थियो । दादुराको एकजना बिरामीले १८ जनासम्म संक्रमण सार्न सक्ने हुँदा दादुरा निकै छिटो फैलने रोगमा लिने गरिन्छ । दादुरा संक्रमण हावाको माध्यमबाट तीव्र गतिमा धेरै जनामा सर्ने हुँदा जनस्वास्थ्यको हिसाबले एकै जना बिरामी हुनु पनि ज्यादै जोखिमपूर्ण मानिन्छ ।

परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा सबैभन्दा धेरै दादुरा संक्रमण बाँकेमा देखिएको छ । १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा देखिएको थियो । जसले १५ वर्षमुनिका बालबालिकामा दादुरा रुबेला संक्रमण तीव्र गतिमा फैलिएपछि महामारीकै रुप लिएको थियो र दादुराकै कारण एक बालकको मृत्युसमेत भएको थियो ।

कोशी प्रदेशका २ जिल्ला मोरङ र सुनसरी, मधेश प्रदेशका ३ जिल्ला धनुषा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका २ जिल्ला चितवन र काठमाडौंमा दादुराको प्रकोप देखिएको छ । यसैगरी लुम्बिनी प्रदेशका ५ जिल्ला कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको एउटा जिल्ला सुर्खेत र सुदूरपश्चिम प्रदेशका ३ जिल्ला कैलाली, कन्चनपुर र बाजुरामा दादुराका बिरामी भेटिएका छन् । यी जिल्लामा गरी यो एक वर्षमा १ हजार ३ जना दादुराका बिरामी भेटिएका छन् ।