खडेरीले खेतमै सुके मकै, धानको ब्याड फुटे

खडेरीले खेतमै सुके मकै, धानको ब्याड फुटे

कहिरन समाचार

काठमाडौं । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने वेलामै बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि सुकेको मकैका बोट काटेर किसानले गाईभैंसीलाई घाँसका रूपमा दिन थालेका छन् ।

भरतपुर महानगरपालिका–८, गौरीगन्जका नवीन पुरीले १३ कट्ठा जग्गाको मकै पूरै सुकेको बताए । उनले भने, “घोगा लाग्ने वेला मकैको बोट सुक्यो । मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो ।”

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले पनि सात कट्ठामा लगाएको मकै सुक्न थालेपछि घाँसका रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी छिन् । ७८ वर्षीया जलपादेवीको सबै परिवार कृषिमा आश्रित छ ।

सोही स्थानकी तारादेवी भण्डारीको पनि चार कट्ठाको मकै सुकेको छ । पाइप लगाएर अलि अलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन् । उनले भनिन्, “मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु । चाख्न समेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो ।”

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुन प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन् । उनी भन्छन्, “सिंचाइको सुविधा भएको ठाउँ बाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ ।”

उनी सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताउँछन्। उनका अनुसार मकै मात्र नभई खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको बताए ।

चितवनमा २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकैखेती हुने गरेको छ । उत्पादकत्व प्रतिहेक्टर ३.७९ मेट्रिक टन रहेको छ ।

चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। माघ(फागुनमा लगाइने ‘वसन्ते’ मकै चितवनमा १४ हजार ६०० हेक्टरमा खेती हुने गर्छ । यो मकै जेठ–असारमा पाक्छ ।

वैशाख–जेठमा गरिने मकै खेती साउन-भदौमा पाक्छ । यसलाई ‘वर्षे मकै’ भनिन्छ । चितवनमा यो मकै नौ हजार ८०० हेक्टरभन्दा बढीमा खेती गरिन्छ ।

यस्तै, असोज-कात्तिकमा लगाइने ‘हिउँदे मकै’ चितवनमा १४ हजार ६०० हेक्टरमा खेती हुन्छ । यो मकै फागुन–चैतमा पाक्छ । चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ ।

यता पर्वतमा पनि खडेरीले कोदो तथा धानको विउँ ब्याडमै सुकेर चिन्तित छन् । पानीको अभावमा बीउ राम्ररी बढ्न नसक्दा आउँदो वर्षमा खाद्यान्नको सङ्कट हुन सक्ने चिन्तामा कृषकहरू छन् ।

फलेवास नगरपालिका–३ शंकरपोखरीका नन्दलाल रेग्मी धाराको पानी भए पनि हालेर रारोपाई गर्ने आसमा छन् । उनले बीउ सिँचाइका लागि नपुगे असारमा धान रोप्न ठप्प हुने बताए । नन्दलाल मात्रै होइन धेरै ठाउँमा असारे रोपाइको बीउ राखिएका ब्याडमा पट्पटी चिरिएको छ।

‘धाराको पानी हालेर कति बीउ पो भिज्ला र खैरु फेरि यो तिरतिरे धाराको बगेको पानी पाउन पनि गाउँलेहरूको लाइन छ । धान कोदोको बीउ सबै डढ्न लागिसक्यो । पानी नपरेर गर्मी उस्तै छ’, नन्दलाल भन्छन्, ‘यस्तै चाल भए रोपाइ नै हुँदैन । पछि फालेको बीउ त अलिअलि हरियो छ, पहिले छरेको बीउ त सुक्यो । बढेकै छैन । यो किसानलाई केही गरी सुख छैन ।’

मनसुन भित्रिन ढिलाइ हुँदा गर्मी अत्यधिक बढेको छ। बजार क्षेत्रमा त कठिन छ नै हरियाली रहेको गाउँमा समेत गर्मीले घर बाहिर निस्केर काम गर्ने अवस्था छैन । गर्मीकै कारण खेतबारीका कान्लामा रहेको घाँससमेत सुक्दा चौपायालाई समेत समस्या भइरहेको कृषकहरू बताउँछन् । पानीको अभावमा मकैका बोटले खाना तयार गर्न नपाउँदा पसाउने बेलाका बोटहरू यसै ठिम्रिएका देखिन्छन् । बिहान बेलुकाको समयमा सामान्य अवस्थामा देखिने मकैका बोट, रोप्नलाई तयारी अवस्थामा रहेको कोदो, उम्रिएको धानको बीउ लगायतका बोटबिरुवा सुकेका छन् ।

‘सुरुमा छरेको मकै त कामै नलाग्ने जस्तो भइसक्यो । अब वर्षा हुँदा साथ रोपाइको माचो सुरु हुन्छ । समयमा वर्षा नहुँदा मकै बल्ल पसाउन लागेका जस्ता छन् । मकै पकाउन खेत नरोप्ने की खेत रोप्नका लागि पसाउन लागेको मकै फाल्नेरु’ बागलुङ नगरपालिका–१४ कैयाका गोविन्द ढकाल भन्छन्, ‘घाम र पानीको सन्तुलन नभई खेतीलाई हुँदैन । पछिल्लो समयमा जलवायु परिवर्तनले पो हो कि सन्तुलन भएको देख्न पाइँदैन ।’

सामान्यतः जेठ महिनामा कोदो रोपेर सकेपछि असारमा धान रोपाइ सुरु हुने गरेको छ । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा कृषकहरूले धेरथोरै कोदो खेती गर्दै आएका छन् । बारीमा लगाइएका मकै गोड्ने र कोदो रोप्ने काम एकै पटक हुन्छ । पहिलो पटक मकै गोडेका कृषकहरूले वर्षा नहुँदा मकै गोड्न नै नपाएको बताउँछन् । फलेवास नगरपालिकाका कृषक लालप्रसाद तिवारीले खडेरीका कारण खेतका मकै सुकेको बेलामा गोड्न नपाएकै कारण बारीका मकै सप्रिन नपाएको बताउँछन् ।

‘बारीको मकै दोहोर्‍याउने दोस्रो पटक गोड्ने बेलामा पानी पर्नुपर्ने हो । खेतमा धानको बीउ बढ्दै गरेको बेलामा बारीमा कोदो रोप्ने हो । पानी परेपछि मकै दोहोर्‍याउने र त्यही माटोमा कोदो रोप्ने हो’, उनले भने, ‘अब खेत रोप्ने बेला आउँदा समेत बारीको मकै दोहोर्‍याउन पाइएको छैन। अब कहिले कोदो रोप्नुरु कहिले मकै मकै पाक्नुरु अनि कहिले धान रोप्नु?’

जिल्लाका अधिकांश क्षेत्रमा वर्षाको भरमा नै खेतीपाती हुँदै आएको छ । झन्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला नै सुकेकाले समस्या भएको कृषकको भनाई छ । पर्वतमा नौ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ भने झन्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको बताएको छ । वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताउँछिन् ।