विमान दुर्घटनाको ४० दिनपछि कोलम्बियाको जङ्गलमा चार बालबालिका जिवितै फेला

विमान दुर्घटनाको ४० दिनपछि कोलम्बियाको जङ्गलमा चार बालबालिका जिवितै फेला

कहिरन समाचार

एजेन्सी । विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै भेटिएका छन् । ती बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको बीबीसीले जनाएको छ । तेह्र, नौ, चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी भएको बताइएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएको बताएको बीबीसीले जनाएको छ । उनले यो दिन पूरै देशको लागि हर्षको दिन भएको बताएका छन् ।

सेस्ना २०६ नामक विमानले अमेजोन प्रान्तको अराराकुरा र ग्वाभियर प्रान्तको सहर सान जोसे डेल ग्वाभियार बिचको रुटमा सात जना सवार बिमान मे १ तारिखको बिहान इन्जिन फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट र बच्चाकी आमा सहित तीन जनाको मृत्यु भएको थियो । तर चार जना बालबालिका भौतारिँदै अनकन्टार जंगलमा गएको हुनसक्ने आशंकापछि कोलम्बियाई सेनाले खोजी तीव्र पाररेको थियो । बालबालिकाका पाइलाका छाप पछ्याउँदै उद्धार टोलीले खोजी गरेको थियो ।

यतिका लामो समयसम्म जंगलमा हराएका बालबालिका जीवितै भेटिनु पक्कै पनि आश्चर्यको कुरा हो । तर तीनीहरु स्थानीय ह्वीटोटो जाति तथा समुदायको भएको र उनीहरुलाई जङ्गली फलफुलको बारेमा जानकारी भएको र जंगलमै पनि बस्न सक्ने खुबी भएकाले जीवीतै रहेको हुनसक्ने अनुमान गरिएको छ ।