नामांकरण गरेदेखि कोशी प्रदेश अशान्त, निशानामा मन्त्री र सांसद

नामांकरण गरेदेखि कोशी प्रदेश अशान्त, निशानामा मन्त्री र सांसद

कहिरन समाचार

काठमाडौँ । सात प्रदेश मध्ये सबैभन्दा पछि नामाकरण भएको कोशी प्रदेशमा प्रदेशको नामाकरण भएदेखि नै अशान्त छ । जातिय पहिचानका आधारमा नामकारण हुनुपर्ने मागमा दिनहुँ आन्दोलन भइरहेको छ ।

एक जनाको ज्यान समेत गइसकेको छ । कोसी नाम विरुद्धको आन्दोलनले प्रदेशसभाको बैठक नै प्रभावित हुदै आएको छ । मन्त्री र सांसदहरु आन्दोलनकारीको निसानामा पर्दै आएका छन् । आज पनि नेकपा एमालेका सांसदहरुलाई आन्दोलनकारीले कालोमोसो दल्नुका साथै दुरब्यवहार गरेका छन् ।

कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार भएको हो । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुरब्यवहार भएको हो । उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारमाथि पहिचान पक्षधर कार्यकर्ताले नाराबाजी गरेका छन् ।

सरकारले पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न भन्दै मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा बुधबार मात्रै वार्ता समिति गठन गरेको थियो । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई औपचारिक पत्र नआएको संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले जानकारी दिएका छन् ।

उनले भने, ‘संघर्ष समितिलाई आधिकारिक पत्र आएको छैन । मैदानमा थुप्रै पहिचानवादी आन्दोलित छन् ।’

यस्तै नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पहिचान पक्षधरले आफ्ना सभामुख र उपनेतालाई गरेको दुर्व्यवहारप्रति निन्दा गरेको छ । आफ्ना दलका उपनेता राना मगर र उपसभामुख दनुवारमाथि भएको आक्रमण र दुर्व्यवहार हुनु निन्दात्मक काम भएको दलका तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रतिक्रिया दिएका छन् ।

सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना दनुवार र इलाममा पूर्वमन्त्री राम रानाप्रति पहिचानवादीले गरेको दुर्व्यवहारप्रति घोर निन्दा रहेको उनले बताए । भण्डारीले आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दै अटेरी गरेर यस्तै गतिविधि गरिरहे चुप लागेर नबस्ने चेतावनी समेत दिए ।