सार्वजनिक यातायातमा जहाजमाझैँ यात्रुलाई गतव्यबारे जानकारी गराउनुपर्ने

सार्वजनिक यातायातमा जहाजमाझैँ यात्रुलाई गतव्यबारे जानकारी गराउनुपर्ने

कहिरन समाचार

काठमाडौं । सार्वजनिक यातायातका साधनहरूले पनि यात्रुहरूलाई जहाजमा झैँ यात्रा तथा गन्तव्यको बारेमा जानकारी गराउनुपर्ने भएको छ ।

सार्वजनिक यातायातका साधनहरूले यात्रुलाई चढाउने र ओराल्ने वेला सहचालक, चालकको नामसहित, बस नम्बर, गन्तव्य, मौसम, यात्रु संख्या, सडकलगायत विषयमा जानकारी गराउनुपर्ने भएको छ ।

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका ०६० लाई थप परिमार्जन गर्दै जनचेतनामूलक अडियो सामग्री अनिवार्य प्रस्तुत गर्नुपर्ने नियम ल्याएको हो । सरकारले निर्देशिकाको बुँदा नम्बर ११ अन्तर्गत (क) र अनुसूची २२ थप गरेको छ । जसमा सवारीसाधनको सरसफाइ, जनचेतनामूलक अडियो, यात्रु र चालकपक्षको जिम्मेवारीलगायत विषय समेटिएका छन् ।

यो नियम मध्य तथा लामो दूरीका सवारीसाधनको लागि हो । यात्रुहरूलाई गन्तव्यबारे थाहा नहुँदा पर्न सक्ने समस्या र सरसफाइलाई मध्यनजर राख्दै यस्तो नियम ल्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यो नियम १ असारदेखि लागू गर्नुपर्नेछ ।