यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

कहिरन समाचार

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

गण्डकी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभियान सञ्चालन गरी गण्डकीलाई ‘संस्थागत सुत्केरी प्रदेश’ बनाउने कार्यक्रम घोषणा गरिएको छ । स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शून्यमा झार्नका लागि यो अभियानको घोषणा गरिएको जनाइएको छ ।

यस्तै, स्थानीय सरकारसँगको समन्वयमा ग्रामीण अल्ट्रासाउन्ड सेवा पनि विस्तार गरिने भएको छ । क्यान्सरका बिरामीलाई थप एक लाख रुपैयाँसम्म आर्थिक सहायता दिने योजना छ । १० वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रदेश मातहतका अस्पतालमा निःशुल्क ओपीडी सेवा प्रदान गरिने भएको छ ।

सरकारले ‘गण्डकीमा डायलासिस सेवा, नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने नारा दिएर डायलासिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्ने नीति लिएको छ । यस्तै पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न संघीय सरकारकासँग समन्वय गर्ने र पुरानो विमानस्थललाई प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, गण्डकी प्रदेशसँग जोडिएको कोरला-त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र जोड्ने प्रयत्न गर्ने, बाल अस्पताल सञ्चालन गर्न साझेदारी गर्ने, किसानलाई प्रोत्साहन स्वरुप उत्पादनमा आधारित अनुदान उपब्ध गराउने, आन्तरिक तथा बाह्य पर्यटनका निमित्त रज्जुमार्ग, जलमार्ग लगायतको वैकल्पिक यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन गर्ने, खेलाडी उत्पादनमा स्थानीय तहसँग समन्वय गर्ने लगायतको योजना अघि सारिएको छ ।

संघीय सरकारको औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने नीतिलाई गण्डकी प्रदेश सरकारले पनि समेटेको छ । प्रदेश सरकारले आगामी असार १ गते ३३ अर्ब रुपैयाँ हारहारीको बजेट ल्याउने तयारी गरेको छ । यस्तै प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्यपी बनाउन, चालू खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने जनाएको छ । कृषि र पशु बिमा कार्याक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने नीति ल्याएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस् ।