यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

कहिरन समाचार

काठमाडौँ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबारको बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान, कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ । कार्यक्रम विशेषगरी कृषि, पर्यटन, स्वास्थ्य र रोजगारीसँग जोडिएर आएको छ ।

नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गरिने बताइएको छ । साथै प्राङ्गारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने, वन तथा कृषिमा आधारित मझौला तथा साना उद्योगलाई ब्याज उपलब्ध गराउने नीति लागू गरिनेछ भने तीन तारे होटेल निर्माण गरेमा सरकारले त्यहाँसम्म पुर्‍याउने पूर्वाधारको विकास गरिदिने भएको छ ।

यस्तै कार्यक्रममा वन पैदावारमा आधारित उद्योगलाई मेसिनरी वस्तुमा सहयोग गरिनेछ भने उत्पादन मुलक उद्योग स्थापना गरेमा त्यहाँसम्म पुग्ने, बाटो लगायतका पूर्वाधारको विकास प्रदेश सरकारले गरिदिने छ । पर्यटन क्षेत्रलाई लक्षित गर्दै रारा, से फोक्सुन्डो, पञ्चकोशी, पचालझरना लगायतका महत्त्वपूर्ण पर्यटकीय स्थलमा होमेस्टेको योजना लागू गरिने जनाइएको छ ।

यस्तै सुर्खेत विमानस्थललाई विस्तार गरिनुका साथै बाल सुधार गृह स्थापना गर्ने सरकारले घोषणा गरेको छ । खेलकुदको क्षेत्रमा १० औँ खेलकुद राष्ट्रिय प्रतियोगिता आयोजनालाई लक्षित गर्दै पूर्वाधार विकास र पाँच ‘प’ को रणनीति अपनाएको छ । वीरेन्द्रनगर सहरको विकासका लागि मंगलगढी चोकमा आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययन गरिनेदेखि आवश्यक परेको ठाउँमा झोलुङ्गे पुल निर्माण कार्य समेत गरिने नीति लिइएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस् ।