लम्पी स्किनबाट सल्यानमा एक हजार पशु मरे

लम्पी स्किनबाट सल्यानमा एक हजार पशु मरे

कहिरन समाचार

सल्यान । सल्यानमा लम्पी स्किन रोगबाट दुई महिनाको अवधिमा झन्डै एक हजार पशुचौपाया मरेका छन् । कालिमाटी गाउँपालिकाबाट फैलिएको रोग हाल जिल्लाका १० वटै पालिकामा फैलिएको छ ।

दुई महिनाको अवधिमा ९९२ पशुचौपाया मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार शारदा नपाामा १०३, बनगाड कुपिण्डे नपामा १५०, बागचौर नपामा १२१, कालिमाटी गापामा ५६, त्रिवेणी गापामा ३६ पशुचौपाया मरेका छन् ।

यस्तै सिद्ध कुमाख गापामा ९०, कपुरकोट गापामा ७४, दार्मा गापामा ९२, छत्रेश्वरी गापामा ३१ र कुमाख गापामा ७२ पशु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए ।

यस्तै कार्यालयको तथ्यांकअनुसार शारदामा ४ हजार ६१६, बनगाडमा ३ हजार ५ सय, बागचौर नगरपालिकामा ४ हजार १२४, कालिमाटीमा ३ हजार ३१०, छत्रेश्वरीमा २ हजार ३ सय, त्रिवेणीमा २ हजार ८०, सिद्धकुमाखमा १ हजार ८९०, कपुरकोटमा २ हजार २५१, कुमाखमा ५ हजार ३१७ र दार्मा गापामा १ हजार ९७८ पशुचौपाया संक्रमित भएका छन् ।

प्रमुख महतका अनुसार जिल्लाका सबै पालिकामा लम्पी स्किन रोगको महामारीले किसानलाई क्षति पुर्‍याएको छ । रोग नियन्त्रणका लागि कर्णाली प्रदेशले हाललाई २ हजार डोज खोप उपलब्ध गराएको छ ।

अहिले विभिन्न पालिकालाई उपलब्ध गराई प्राविधिक खटाएर धमाधम गाईगोरुमा लगाउन थालिएको उनले बताए । उनका अनुसार जिल्लाका लागि ३ हजार डोज खोप माग गरिएको र १ हजार डोज खोप आउन बाँकी रहेको बताए ।

जिल्लाभरका ३१ हजार ६ सय किसानले झन्डै ७० हजारभन्दा बढी गाईगोरु पाल्दै आएका छन् । खेतीपाती गर्ने समयमा रोगले धमाधम गोरु मर्न थालेपछि किसान चिन्तित छन् ।