नक्कली शरणार्थी प्रकरण: बयान दिन बालकृष्ण खाँणको आनाकानी

नक्कली शरणार्थी प्रकरण: बयान दिन बालकृष्ण खाँणको आनाकानी

कहिरन समाचार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत काठमाडौंमा बयान दिन बाहाना बनाइरहेका छन् । बयानको लागि हिजै पालो परेका खाँणले आज पनि बयान दिएनन् ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएका पुर्वगृहसचिव टेकनारायण पाण्डे, सानू भण्डारी, गोविन्द चौधरी र रामशरण केसीको बयान लिइएको छ । आजसम्म गिरोहका १२ जनाको बयान सकिएको सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणी नेउपानेले जानकारी दिए ।

हालसम्म जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान दिएका सबैले इन्कारी वयान दिएका स्रोतले जानकारी दिएको छ । बाँकी प्रतिवादिको बयान सकाएर पर्सि शुक्रबारसम्ममा थुनछेक बहस नै सुरु हुनसक्ने सहन्यायधिवक्ता नेउपानेले बताए ।

नक्कली शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । थप १६ जना प्रतिवादी फरारको सूचीमा रहेका छन् । पक्राउ परेकाहरुको बयानमा पोलिएका व्यक्तिबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको बिरोधमा बिभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् । उनीहरुले रिजाललाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणले नेपालको छविलाई ध्वस्त पारेको तथा आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको नेपाल सहित युरोपमा रहेका बिभिन्न आठ संघसंस्थाले ठहर गरेका छन् । कथित व्यक्तिहरूले नियोजित षड्यन्त्र गर्दै रिजालको छवि धमिलो पार्न खोजेको भन्दै रिजालमाथि मात्रै दोष थोपरेर शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिएको आरोप पनि लगाएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको जिल्ला अदालत काठमाडौंमा बयान चलिरहेको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको अभियोग अनुसार रिजालको बयान हुन भने बाँकी नै छ । उनलाई पक्राउ गरेर दरबारमार्ग प्रहरी हिरासतमा राखिएको छ ।