कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा

कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा

कहिरन समाचार

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

राति देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।