दुवै खुट्टा गुमाएका बुढामगरको विश्व कीर्तिमान

दुवै खुट्टा गुमाएका बुढामगरको विश्व कीर्तिमान

कहिरन समाचार

काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उक्त कीर्तिमान उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेका हुन् ।

कृत्रिम खुट्टाको सहायताले बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । झन्डै ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल गाउँमा सन् १९७९ मा जन्मिएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।

सगरमाथाको सफल आरोहण गर्नुपूर्व बुढामगरले नर्थ अफ्रिकाको माउन्ट टुब्कल (४,१६७), माउन्ट ब्लांक (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरापिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई डाइभ गर्ने ‘डबल एम्प्युटी एभोब नी’ (घोडामाथिबाट दुवै अंगविच्छेदन) लगायत रेकर्ड बुढामगरको नाममा छ ।

बुढामगर गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुन् । सन् १९६९ मा स्थापित ट्रस्टले गोर्खा भेट्रान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायलाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत महत्त्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

आरोहणपछि अबको जीवनको अधिकांश समय नेपालमा बिताउने बुढामगरको योजना छ । नेपालमा अपांग सचेतना र आर्थिक विकासको क्षेत्रमा योगदान गर्ने उनले सुनाए ।