जेठ १५ देखि खुल्दै पोखराको रत्नमन्दिर

जेठ १५ देखि खुल्दै पोखराको रत्नमन्दिर

कहिरन समाचार

काठमाडौं । पोखराको रत्नमन्दिर अर्थात् राजदरबार अब नागरिकका लागि खुला हुने भएको छ । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गतेदेखि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

राजा महेन्द्रले पोखराको फेवाताल किनारमा आराम गर्न रत्नमन्दिर बनाएका थिए । २०१५ सालमा कान्छी रानी रत्नको नामबाट राजा महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको त्यो दरबारको नाम रत्नमन्दिर राखिएको थियो ।

त्यसपश्चात् आराम गर्न र फेवा किनारमा टहल्न राजपरिवारका सदस्य वेलाबखत रत्नमन्दिर आइरहन्थे । तर, सर्वसाधारणले भने रत्नमन्दिर प्रवेश पाउने गरेका थिएनन् । फेवाताल किनारको ११४ रोपनी क्षेत्रफलमा फैलिएको अग्ला पर्खालले ढाकिएको रत्नमन्दिर कस्तो छ भन्ने नागरिकका लागि भने सधैं रहस्मय नै बन्यो ।

गणतन्त्र आएपछि पटक पटक रत्नमन्दिर खुला गर्ने तयारी गरिए पनि खुलाउने प्रकृया हुन सकेको थिएन । अब भने रत्नमन्दिर सधैंका लागि जनताले हेर्न र घुम्न पाउने नेपाल ट्रस्टकी बोर्ड सदस्य योङजोम शेर्पाले बताइन् । “गणतन्त्र दिवसका अवसरमा रत्नमन्दिर मात्र खुला गर्ने निर्णय भएर तयारी चलिरहेको छ,” शेर्पाले भनिन् ।

रत्नमन्दिर जनताका लागि खुला गर्न पर्यटनमन्त्री सुदन किराती पोखरा आउने पोखराका मेयर धनराज आचार्यले बताए । त्यसका लागि तयारी भइरहेको आचार्यले बताए ।

रत्नमन्दिर खुल्ने भएपछि पोखराका पर्यटन व्यवसायी पनि उत्साही छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ रत्नमन्दिर खुलिसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने बताउँछन् ।

रत्नमन्दिर अवलोकन गर्न १०० रुपैयाँ टिकट तय गरिएको नेपाल ट्रस्टले जनाएको छ ।