पोल्याण्ड लैजान भन्दै होटलमा अभिमुखीकरण दिने दुई जना पक्राउ

पोल्याण्ड लैजान भन्दै होटलमा अभिमुखीकरण दिने दुई जना पक्राउ

कहिरन समाचार

काठमाडौं । नेपाली नागरिकलाई पोल्याण्ड लैजान भन्दै बिना अनुमति अभिमुखीकरण गर्ने दुई जना विदेशी नागरिक पक्राउ परेका छन् ।

वैदेशिक रोजगार विभागले पोल्याण्डका नागरिक एलेग फेडोसिक र दुवइका नागरिक रिया फेडोसिकलाई शनिबार काठमाडौंस्थित मेरियट होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले टिकटकमा विज्ञापन गरी पोल्याण्ड लैजान भन्दै आज १ हजार जनालाई होटलमै अभिमुखीकरण दिने तयारी गरेका थिए ।

दुइ समुहलाई अभिमुखीकरण दिइसकेका उनीहरुले अनुमति नलिएको पाइएपछि नियन्त्रणमा लिइएको विभागको अनुगमत तथा अभिमुखीकरण शाखा प्रमुख धर्मराज लम्सालले जानकारी दिए । उनले ठगीमा परेका युवालाई भोलि विभागमा आउन भनेको बताए ।

अभिमुखीकरणमा सहयोग गरेको आशंकामा इगल म्यानपावर कन्सल्टेन्सीका कृष्ण ढकाललाई भने भोली विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।

वैदेशिक रोजगारमा जान श्रम स्वीकृती लिनेको संख्या पनि बढ्दै गएको छ । विभिन्न मुलुकहरुमा पठाउने र मासिक तलब राम्रो हुने प्रलोभनमा श्रमिकलाई लालायित पारेर रकम हडप्नेको अदृश्य ताँती लागेको तथ्य प्रहरीको तथ्यांकले समेत प्रष्ट पारेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा ठगीमा परे विभाग र नेपाल प्रहरीमा उजुरी दिन सकिने अनुसन्धान अधिकृत धर्मराज लम्सालले जानकारी दिए ।

ईजाजत बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, वैदेशिक रोजगारमा पठाउँछु भनि झुठो आश्वासन दिएमा वा प्रलोभन देखाई रकम असुली गरेमा ३ देखि ७ वर्षसम्म कैद सजाय र ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना गरिने कानूनी व्यवस्था छ ।