आजदेखि ‘एमडिएमएस लागू’, दर्ता नभएका मोबाइलमा ‘नेटवर्क लक’

आजदेखि ‘एमडिएमएस लागू’, दर्ता नभएका मोबाइलमा ‘नेटवर्क लक’

कहिरन समाचार

काठमाडौं । मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदै छ । अबदेखि नेपाल भित्रिने मोबाइलको आइएमइआई प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्नेछ ।

प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन । ३१ वैशाखसम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

लामो समयपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत २०७८ साउनदेखि यो लागू गर्ने घोषणा गरेको थियो । तर, प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन ।

दोस्रो पटक १५ पुस २०७९ देखि एमडिएमस लागू गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि तत्कालका लागि स्थगित भएको थियो ।