११ घण्टापछि ओर्लिए हाइटेन्सन लाइनको पोलमा चढेका माझी

११ घण्टापछि ओर्लिए हाइटेन्सन लाइनको पोलमा चढेका माझी

कहिरन समाचार

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ डंग्राहामा बिजुलीको हाइ भोल्टेज प्रसारण लाइनको पोलमा चढेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब ११ घण्टापछि पोलबाट झारिएका डंग्राहाका ४० वर्षका दिनेशकुमार माझीलाई नियन्त्रणै राखिएको मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

माझीले आफु सहित अन्य व्यक्तिहरुलाईसमेत हानी पु¥याउनसक्ने अवस्थालाई मध्यनजर गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी आज प्रहरी नियन्त्रणमै रहनेछन् ।

सडक निर्माणमा भइरहेको रिटेनिङ वालको काम गुणस्तरिय नभएको भन्दै आज बिहानै प्रसारण लाइनको पोलमा चढेका माझीलाई उनकै अडान अनुरुप पालिका अध्यक्ष र उपाध्यक्षलाइ घटनास्थलमा बोलाएर तल झारिएको हो ।

शनिबार बिहानै ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका उनले पालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारुसमक्ष आफ्नो माग राख्ने अडान राखेका थिए । जबरजस्ती गरिए आत्मदाह गर्ने धम्की दिँदै बसेका उनको माग पुरा गर्दै उद्दार गरिएको प्रहरीले जनाएको छ ।

तल झरेपछि उनले आफ्ना कुराहरु जनप्रतिनिधिमाझ राखेपछि नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताए ।