०७८ र ७९ को भूकम्पबाट आवास गुमाएकालाई सरकारले ५० हजार राहत दिने

०७८ र ७९ को भूकम्पबाट आवास गुमाएकालाई सरकारले ५० हजार राहत दिने

कहिरन समाचार

काठमाडौं । सरकारले पछिल्लो दुई वर्षमा गएको भूकम्पबाट क्षतिग्रस्त घरलाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले २०७८ र २०७९ मा गएको भूकम्पबाट पूर्ण रुपमा घर क्षतिग्रस्त भएका ५ हजार ८ सय ८० घरपरिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक विधि बनाएर दुई किस्तामा रकम दिने निर्णय भएको छ ।

२०७८ जेठमा लमजुङ र साउनमा खोटाड तथा २०७९ कात्तिकमा डोटी र माघमा बाजुरा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ५ हजार ८८० घरमा क्षति पुगेको थियो ।

साथै यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न ’एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गर्ने जिम्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिइएको छ ।