दमकमा जुलुसका क्रममा प्रहरीको गोली लागेर दुई घाइते

दमकमा जुलुसका क्रममा प्रहरीको गोली लागेर दुई घाइते

कहिरन समाचार

काठमाडौं । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ १० जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले राँको निभाउन खोज्दा झडप भएको थियो ।

प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर जुलुसमा सहभागी गजेन्द्र फागो र अर्का एक जना घाइते भएका हुन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र १९ सेल अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।