बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथि स्थानीयको आक्रमण

बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथि स्थानीयको आक्रमण

कहिरन समाचार

कालिकोटमा । बलात्कार मुद्दाका फरार आरोपीलाई पक्राउ गर्दा प्रहरी र पीडितका आफन्तमाथि स्थानीयहरूले आक्रमण गरेका छन्। बलात्कार आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंक बुढालाई पक्राउ गर्न खोज्दा सोमबार स्थानीयले आक्रमण गरेका हुन् ।

आक्रमणमा इलाका प्रहरी कार्यालय पलाँताका असइ लक्ष्मी ढुंगेल रावत र स्थानीय धनमान विक घाइते भएका छन् । घाइते विकलाई स्थानीयले प्रहरीलाई सहयोग गरेको भन्द कुटपिट भएको हो । घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक शुवराज बमले बताए ।

बलात्कार घटनाका आरोपित बुढा हतकडीसहित फरार भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटिएको छ ।

गत असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले बुढाविरुद्ध कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसयता फरार रहेका बुढा घर आएको जानकारी पाएपछि सोमबार कहरदेव प्रहरी चौकी खीनबाट प्रहरीको टोली पक्राउ गर्न गएको थियो । प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका थिए ।