टुकुचा क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई महानगरको पत्र

टुकुचा क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई महानगरको पत्र

कहिरन समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ ।

उच्च अदालत, पाटनको आदेशपछि मेयर बालेन्द्र साह (बालेन)ले मन्त्रालयलाई पत्र पठाएर हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएकाले लगत कट्टा गर्नुपर्ने जनाएका छन् । यससँगै पत्रमा व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गाको लगत कट्टा गरी सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्न आग्रह गरेका छन् ।

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी/सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी/सार्वजनिक जग्गा व्यक्तिविशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यही कानूनी व्यवस्थाका आधारमा काठमाडौं महानगरपालिका-१, हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएकाले लगत कट्टा गर्न पत्राचार गरिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ मंसीर १ गतेको निर्णयले कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न बन्देज लगाएको छ । टुकुचा खोलाको बहाव क्षेत्र तथा सोको दायाँबायाँको चार–चार मिटरको जग्गामाथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने महानगरले जिकिर गरेको छ ।

उच्च अदालत, पाटनले भूमिगत टुकुचामाथि बनाइएको व्यक्तिगत भवन र नदीको संरक्षणबारे स्थानीय तह र केन्द्र सरकारले संयुक्त अध्ययन गरेर निर्णय निकाल्नुपर्ने फैसला गरेको छ । त्यही फैसलाका आधारमा मेयर साहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्ने जनाएका छन् ।