यस बर्ष मनसुनमा सरदरभन्दा थोरै पानी पर्ने

यस बर्ष मनसुनमा सरदरभन्दा थोरै पानी पर्ने

कहिरन समाचार

काठमाडौँ । आउने मनसुनमा सरदरभन्दा थोरै पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३ गते) को हावापानी आकलन प्रक्षेपण गरेको हो ।

देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए । यसले मनसुनका वेला पर्नुपर्ने जति पानी यो वर्ष नपर्ने सम्भावना उल्लेख्य भएको बुझाउँछ । यद्यपि, कोशीका मध्य तथा उत्तरपूर्वी भाग, बागमतीका दक्षिण-पूर्वी भाग, मधेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

मनसुन नेपाल सहित दक्षिणएशियाका देशको कृषि प्रणाली र अर्थतन्त्रका लागि रक्षक मानिन्छ । नेपालको खेतीपाती प्रमुख रूपमा आकाशे पानीमा निर्भर छ । समयमा वर्षा हुँदा प्रमुख खाद्यान्न बाली धान उत्पादन बढी हुने र त्यसले आर्थिक वृद्धिदरमा सघाउने गर्छ ।

विभागले आगामी मनसुनका वेला सरदर तापक्रम पनि बढी हुने अनुमान गरेको छ । देशभरि अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।