दार्चुला र बझाङमा हिमपहिरो

दार्चुला र बझाङमा हिमपहिरो

कहिरन समाचार

काठमाडौं । दार्चुला र बझाङको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परी पाँच जना वेपत्ता भएका छन् ।

व्याँस गाउँपालिका–१ छाङरुस्थित बोलिनमा आएको हिमपहिरो परी यार्सागुम्बा संकलन गर्न गएका ४ जना वेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले जानकारी दिए । एकजना घाइते भएको खवर आएको उनले बताए ।

अहिले छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं. गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपसिंह धामीका अनुसार यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किनेक्रममा हिमपहिरोमा परेका थिए ।

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले तीन/चार दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको बताएका छन् । दुई फीटभन्दा धेरै हिउ जमेकाकारण सदरमुकामबाट वस्तुभाउ लगेर छाङरु, तिंकर हिडेकाहरु पनि हिमपातले बाटोमै रोकिएका छन् ।

यता बझाङमा पनि हिम पहिरोमा पुरिएर एक महिला बेपत्ता वेपत्ता भएकी छन् । यार्सागुम्बा संकलक गर्न पुगेकी सुर्मा गाउँपालिका –१ देवडिकी ३३ बर्षिया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश अवस्थीले जानकारी दिए ।

केही दिन अगाडि छोेरासहित सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा गएराति हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा बेपत्ता भएको स्थानीय दिपेन्द्र बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश अवस्थीले सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीबाट प्रहरी परिचालन गरी थप बुझ्ने प्रयास भइरहेको बताए ।