‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न रोक लगाइने

‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न रोक लगाइने

कहिरन समाचार

काठमाडौं । सरकारले सडक खाद्यवस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक रसायन उक्त पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माण शुरु गरिएको बताइन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् । महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्न सरकारले स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रम अघि बढाएको बताइन् ।

उनले भनिन्, ‘स्ट्रिट फुडलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । पत्रिकामा चटपटे, पानीपुरी लगायत प्याक गरेर खाने चलनलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटी पनि त्यही प्रिन्टेड कागजमा पोको पारेर दिने चलन छ । फुड प्वाइजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्न तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ । यसलाई प्रतिबन्ध गरी खाद्य ऐन बमोजिम यस्तो हानिकारक चिजलाई हामी प्रतिबन्ध लगाउन सक्छौँ ।’

खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।