धादिङमा पुल भासियो, पृथ्वीराजमार्ग अवरुद्ध

धादिङमा पुल भासियो, पृथ्वीराजमार्ग अवरुद्ध

कहिरन समाचार

काठमाडौं । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको पुल सोमबार दिउँसो भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसीपट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकतर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माण थालेको थियो । नयाँ पुल निर्माणका लागि पुलछेउमा केही समयदेखि खनिएको थियो ।

राजमार्ग अवरुद्ध भएपछि साना सवारीलाई कच्ची सडक प्रयोग गरी आवातजावत गर्न दिइएको छ । ठूला सवारी भने सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताए ।

सहजताअनुसार हेटौँडा-काठमाडौं र काठमाडौं-नुवाकोट-गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।