राष्ट्रिय युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला

राष्ट्रिय युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । संघले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै काठमाडौंको नयाँ बानेश्वरमा शनिबार प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

युवा संघले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ वितरण गर्ने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरूले लडाकुको नाममा अर्बौ रकम घोटाला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गर्दै उक्त कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिए ।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरूप २ लाख रुपैयाँका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । त्यस्तै, युवा संघ नेपालले मुल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।