वीरगञ्जमा जथाभावी फोहोर फाले सार्वजनिक अपराधको मुद्दा लगाइने

वीरगञ्जमा जथाभावी फोहोर फाले सार्वजनिक अपराधको मुद्दा लगाइने

कहिरन समाचार

काठमाडौं । वीरगञ्ज महानगरपालिकाभित्र जथाभावी फोहोर फाल्ने विरुद्ध सार्वजनिक अपराध सम्बन्धी मुद्दा लगाइने भएको छ । वीरगञ्जलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसूर सम्बन्धी मुद्दा चलाइने भएको छ ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरले अब जरिवानासँगै फोहर फाल्ने विरुद्ध सार्वजनिक अपराध कसूर सम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले बताए ।

“जथाभावी फोहोर फाल्नेलाई गत पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौं, अझै फोहोर फाल्ने क्रम रोकिएको छैन,” मियाँले भने, “जरिवाना गर्दा फोहोर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत रट्ठपमा घटेको छैन ।” त्यसैले अब फोहोर फाल्नेलाई जरिवाना मात्रै होइन, सार्वजनिक अपराध कसूर सम्बन्धी मुद्दा समेत चलाउने तयारी गरिएको उनले बताए ।

गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहोर फाल्ने व्यक्ति र संस्था गरी ३६२ जनाबाट महानगरले आठ लाख ७१ हजार जरिवाना बापत राजस्व सङ्कलन गरेको छ । “घर, पसल र कार्यालयबाट निस्किने फोहोर जताततै फ्याँक्ने प्रवृत्ति छ,” मियाँले भने, “त्यो प्रवृत्ति निरुत्साहित गर्न फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान शुरू गरेका छौं ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । वीरगञ्जस्थित पृथी तारा एमके इन्टरनेशनल जेभीसँग २०७६ जेठ २ गते सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ ।

विगतमा डम्पिङ साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइड बनाएको छ । जसले गर्दा फोहोरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए ।

केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइका दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिवेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । अतिक्रमण र फोहोरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, बिर्ता, माईस्थान लगायत सडक सफा र सुन्दर भएका छन् ।

आर्थिक राजधानीका रूपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगरक्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम थालेको मेयर राजेशमान सिंहले बताए । “बढ्दो जनघनत्व र सडकमै फोहोर फाल्ने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो,” मेयर सिंहले भने, “फोहोर व्यवस्थापन गरी वीरगञ्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने सङ्कल्प लिएको छु ।”