निरा पाण्डे हत्याको अनुसन्धान गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन

निरा पाण्डे हत्याको अनुसन्धान गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन

कहिरन समाचार

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा एक भाँडा व्यवसायीको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)को नेतृत्वमा समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ ।

एक साता बितिसक्दा उक्त हत्या प्रकरणका बारेमा प्रहरीले यकिन कारण पत्ता लगाउन नसकेपछि ११ सदस्यीय छानबिन समिति गठन गरिएको हो । एक साता बित्दासमेत हत्याको तथ्य पत्ता नलाग्दा प्रशासनविरुद्ध विरोध भइरहेको छ ।

वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो ।

पाण्डेले झण्डै १० वर्षदेखि सरस्वतीनगरमा ‘निरु किचन’ नामक भाँडा पसल चलाउँदै आएकी थिइन् ।