चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको भवन हस्तान्तरण

चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको भवन हस्तान्तरण

कहिरन समाचार

काठमाडौँ । चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन आज हस्तान्तरण गरिएको छ ।

चीन सरकारले नयाँ सर्जिकल भवन निर्माण सम्पन्न भएपछि चिनियाँ दूतावास र ग्वाङ्जाओ इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीले आज एक कार्यक्रम गरेर उक्त भवन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालको स्तरोन्नतिका लागि चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले अस्पतालहरूको विकास तथा प्रविधि लगायतका स्वास्थ्य क्षेत्रका विषयहरूमा नेपाल र चीनबीच थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्दै विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको समेत बताए ।

उनले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको विस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्यधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने ,‘नजिकको छिमेकी, असल मित्र र भरपर्दो साझेदारका रूपमा नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छ । वास्तवमा, चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मार्दै आएको छ, विकासका परिणामहरू प्रदान गर्न र हाम्रा जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने हाम्रो आशा र आकांक्षा हो ।

उनले कोभिड महामारीको बेला जीवन बचाउने भ्याक्सिन, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको भन्दै चीन सरकारलाई धन्यवाद दिए ।

चीन सरकारको सहयोगमा नयाँ भवन निर्माण भएपछि हाल अस्पताल अब ३ सय बेडको भएको छ ।