मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान

मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान

कहिरन समाचार

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मिटरब्याज पीडितहरूबाट निवेदन आह्वान गरेको हो ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार यसका लागि आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आयोगले भनेको छ, ‘पीडितहरूले आफ्नो भएसम्मका सबुद प्रमाण सहित भएको ब्यहोरा खुलाई अनलाइनबाट सीधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ ।’

निवेदनका लागि सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडत सहायता कक्ष पनि स्थापना गरिएको छ । सहायता कक्षमा निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने व्यवस्था गरिएको छ ।

आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन दिन समयसिमा दिएको छ । आयोगले वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गर्दै छ । त्यही दिनदेखि कामकाज पनि शुरू हुने जनाएको छ ।

तराई–मधेशका जिल्लाबाट आएका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन गरेका थिए । त्यसपछि गत चैत २० गते सरकारले कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले कामकाज शुरू गरिसकेको अध्यक्ष कार्कीले जानकारी दिए ।