सालक संरक्षणकर्मी तुलसीलक्ष्मी ‘ह्वीट्ली अवार्ड’बाट सम्मानित

सालक संरक्षणकर्मी तुलसीलक्ष्मी ‘ह्वीट्ली अवार्ड’बाट सम्मानित

कहिरन समाचार

काठमाडौं । ह्वीट्ली फन्ड फर नेचरले सालक संरक्षणकर्मी तुलसीलक्ष्मी सुवाललाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्डबाट सम्मानित गरेको छ । बेलायतको राजधानी लन्डनको रोयल जिओग्राफिक सोसाइटीमा बुधबार राति आयोजित विशेष कार्यक्रममा सुवाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

१५ वर्षदेखि सालक संरक्षणमा सक्रिय उनलाई ह्वीट्ली फन्ड फर नेचरकी संरक्षक बेलायतकी राजकुमारी एन्नले ४० हजार पाउन्ड राशि सहित पुरस्कार प्रदान गरेकी थिइन् ।

ह्वीट्ली फन्ड फर नेचरका ट्रस्टी सर डेभिड एटिनवरोले संरक्षणकर्मीहरूको खाँचो अहिले जति कहिले पनि महसूस नभएको बताएका छन् । ह्वीट्ली फन्ड फर नेचरले ३०औं वार्षिकोत्‍सव मनाइरहँदा एटिनवरोले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘ह्वीट्ली पुरस्कार विजेताहरूले सफलता पाउने गरी काम गर्न हामीले पनि सकेसम्म उनीहरूलाई मद्दत गर्नुपर्दछ ।’

सालक विश्वमै सबैभन्दा धेरै चोरी शिकार हुने प्राणी हो । डढेलो र वन विनाशले सालक जोखिममा पर्दै आएको छ । सालकको वासस्थान जोगाउन संरक्षणका विभिन्न क्रियाकलापमा संलग्न हुँदै आएकी सुवाल साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनकी संस्थापक समेत हुन् ।

ह्वीट्ली फन्ड फर नेचरले अबको एक वर्ष सुवाललाई सामुदायिक सालक संरक्षण समूह खडा गरी सालकको निगरानी र वृक्षरोपण तथा डढेलो नियन्त्रणमा सघाउने छ । सो योजना अनुसार सुवालले बागमती प्रदेशको महाभारत पर्वत शृङ्खला आसपास २० हजार वृक्षरोपण गर्ने तथा समुदायमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्नेछिन् । सालकमा विद्यावारिधि गरेकी नेपालको पहिलो महिला संरक्षणकर्मी सुवाल आईयूसीएन प्यांगोलिन स्पेशलिस्ट ग्रूपकी सदस्य पनि हुन् ।

ह्वीट्ली फन्ड फर नेचरले नेपालकी सुवाल सहित अन्य पाँच जनालाई पनि संरक्षण पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा मेक्सिकोकी पन्छी संरक्षणकर्मी युलिना बिडोला, मादागास्कारका प्रकृति संरक्षणकर्मी म्यामी राजाफिसाल्मा, क्यामरुनका प्राणीशास्त्री तथा सिंह संरक्षण अभियन्ता सर्जेए एलेक्सिस कामागाङ, काजखस्तानका मृग संरक्षक अल्बर्ट सालमगारेइभ, केन्याका मत्स्य संरक्षक लियोनार्दो अक्वाने छन् ।

त्यस्तै, ह्वीट्ली फन्ड फर नेचरले प्रत्येक वर्ष प्रदान गर्ने ह्वीट्ली गोल्ड अवार्डबाट सिभानी भल्ला पुरस्कृत भएकी छन् । पूर्व पुरस्कार विजेतामध्येबाट छानिने सो अवार्डको राशि एक लाख पाउन्ड छ ।