‘मल उपलब्ध गराउन र कान्ति अस्पतालको स्तरवृद्धि गर्न रुस सकारात्मक’

‘मल उपलब्ध गराउन र कान्ति अस्पतालको स्तरवृद्धि गर्न रुस सकारात्मक’

कहिरन समाचार

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय टोली रुस भ्रमण सकेर स्वदेश फर्किएको छ । मंगलबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिनासहितको टोली स्वदेश फर्किएको हो ।

रुस भ्रमणका क्रममा रुसका उच्चपदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको उनले बताए । उनले रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्न तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीहरुले बताएको अध्यक्ष तिमिल्सनाले जानकारी दिए ।

उनले सोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध विस्तार गर्न रुस तयार रहेको बताए । उनले दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सकारात्मक रहेको बताए ।

उनले जिटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सघाउने कुरामा पनि छलफल भएको बताए । गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा पनि रुस सकारात्मक रहेको बताए । नेपालले प्रस्ताव गरे कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्न रुस तयार रहेको जानकारी पनि उनले दिए ।

भ्रमणका क्रममा विभिन्न संग्रहालयको अवलोकनसमेत टोलीले गरेको पनि उनले बताए।