सिरहाको लक्ष्मीपुर पालिकाका पुर्वअध्यक्ष, उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिरहाको लक्ष्मीपुर पालिकाका पुर्वअध्यक्ष, उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा दायर

कहिरन समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पुल र कल्भर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ परिवर्तन गरी, योजना सम्पन्न नहुँदै न्यून गुणस्तरमा काम गरी दुबै योजना सम्पन्न गर्न नमिल्ने अवस्थामा पनि भुक्तानी दिएको अख्तियारको आरोप छ ।

अख्तियारले गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष आशादेवी यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालिन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, तत्कालिन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं ३ का तत्कालिन वडाध्यक्ष हनुमान मण्डल र उपभोक्ता समितिका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यता सेवाग्राहीसँग घुस लिने मालपोत कार्यालय महोत्तरी जलेश्वरका नायव सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भन्दै सेवाग्राहीसँग नौ हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जनाएको छ ।