१ केजी ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

१ केजी ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

कहिरन समाचार

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीले यस बारेमा जानकारी गराएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी वर्ष ६३ की पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन् । रविन्द्रकुमारलाई वैशाख ५ गते काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो भने एन्ड्रिटुलाई ठमेलस्थित नै अर्को होटलबाट युएस एक हजार डलरसहित पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनीहरूको साथबाट कालो रंगको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाइ छिपाइ राखिएको अवस्थामा लागूऔषध १ केजी ८० ग्राम कोकिनसहित पक्राउ गरिएको र केनियन महिलाबाट एक सय अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।

उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।

बरामद लागूऔषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको छ ।