भुटानी शरणार्थी प्रकरण: ५१९ लाख ठगिएको भन्दै १० पीडितले दिए प्रहरीमा जाहेरी

भुटानी शरणार्थी प्रकरण: ५१९ लाख ठगिएको भन्दै १० पीडितले दिए प्रहरीमा जाहेरी

कहिरन समाचार

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु. पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरू सम्पर्कमा आएका र उनीहरूले रु. पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ । उनीहरूको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौं रकम ठगेका पाइएको प्रहरीले जनाएको छ ।

यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितहरूले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो ।