राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

कहिरन समाचार

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान रुस प्रस्थान गरेका हुन् ।

प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिए ।

उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबाट सिक्ने समेत बताए ।

टोलीमा राष्ट्रियसभाका सदस्य वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ‘पार्वती’, महेशकुमार महरा र शेखरकुमार सिंह तथा सङ्घीय संसद् सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् । भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभ र सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बिदाइ गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डल यही वैशाख १२ गते दिउँसो स्वदेश फर्कने छ ।