नेपालमा नसर्ने रोगको समस्या बढ्दै गएकोमा विज्ञहरुको चिन्ता

नेपालमा नसर्ने रोगको समस्या बढ्दै गएकोमा विज्ञहरुको चिन्ता

कहिरन समाचार

काठमाडौं । नेपालमा नसर्ने रोगको समस्या बढ्दै गएकोमा विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । बिहीबार नेपाल एनसिडी अलाइन्स र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी मिडिया एड्भोकेसी कार्यक्रममा नसर्ने रोग नियन्त्रण गर्न जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा एनसिडी अलाइन्सका उपाध्यक्ष डा. अभिनभ वैद्यले अस्वस्थकर जीवनशैली र मोेटोपनाका कारण नसर्ने रोग बढ्दै गइरहेको उनले बताए । उनले नसर्ने रोग नियन्त्रणकालागि राज्यले लगानी बढाउनुपर्नेमा समेत जोड दिए ।

नेपाल एनसिडी अलाइन्सका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले नसर्ने रोगबारे सञ्चारमाध्यमले जनचेतना जगाउनुपर्ने बताए । उनले नसर्ने रोग लागेका बिरामीहरुका समस्यालाई संचारमाध्यमहरुले स्थान दिनुपर्ने बताए ।

नसर्ने रोगकै कारण बिरामीहरुले आर्थिक भार समेत खेप्नु परेको उनले बताए । नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकार, सरोकारवाला र सञ्चारमाध्यमले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार रामप्रसाद न्यौपानेले स्वास्थ्यका विषयमा लिने जानकारीको मुख्य स्रोतको रूपमा अहिले पनि सञ्चारमाध्यमलाई नै लिने गरेको दावी गरे ।

कार्यक्रममा शान्तलाल मुल्मीले सञ्चारमाध्यमले नसर्ने रोगका स–साना मुद्दाहरुमा कलम चलाउन आग्रह गरे। अलाइन्सका महासचिव किशोर कुमार प्रधानाड्डले नसर्ने रोगको रोकथामका तथा न्यूनीकरणका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गरिने जानकारी दिए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुले नसर्ने रोगका विषयलाई प्राथमिकताका साथ कलम चलाउने गरेको बताए । नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि मञ्चले पत्रकारिताको तर्फबाट विभिन्न पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।