पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

कहिरन समाचार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सोमबार विदेशी नागरिकलाई ठगेर अवैध रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

केन्द्रीय अनुसन्‍धान ब्युरोका प्रवक्ता एवं एसपी संजयसिंह थापाका अनुसार पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

अदालतको आदेशपछि पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि जेल चलान भएका छन् । प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् ।

फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् ।

शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरुले कम्पनीको उद्देश्य विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्राउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

उनीहरुले अमेरिकी नागरिकसम्म एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानीलगायतका विभिन्न निहुँमा सम्पर्क स्थापित गरेका थिए । त्यसपछि रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत ब्यांक एकाउन्टमा पहुँच बनाएर खाताको रकम नेपाल र थाइल्याण्ड पठाएको सीआईबीले जनाएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको, उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्ने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

ठगी गरेर उनले सम्पत्ति, घर-जग्गा, शेयर, सुन, कम्पनी लगायतमा कारोबार गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ । शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि सीआईबीले जनाएको छ ।

शाहको समूहबाट कूल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सीआईबीले जनाएको छ । जाहेरी दिएका २४ जनाबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको पाइएको छ ।

अनुसन्धानबाट उनीहरूको समूहले ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ आर्जन गरेको देखिन्छ । जसमध्ये बैंकमा रहेको एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ पनि रोक्का गरिएको सिआइबीले जनाएको छ ।

उनीहरूलाई क्षतिपूर्ति, सात वर्ष कैद र ७० हजार जरिवाना माग गरेको हो । सरकारी ऐन अनुसार भने थप सजाय हुनसक्ने कानूनी व्‍यवस्था रहेको छ ।

उनीहरूमाथि चार वटा मुद्दा चलाउन पर्ने सुझावसहित फागुन १७ गते सिआइबीले सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उनीहरूमाथि ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरूद्धको मुद्दा चलाउनुपर्ने सुझावसहित कार्यालयले गत मंगलबार मुद्दा दायर गरेको थियो ।