इनरुवा अस्पतालको गाउँघरमा डाक्टर अभियान

इनरुवा अस्पतालको गाउँघरमा डाक्टर अभियान

कहिरन समाचार

काठमाडौँ । सुनसरीको इनरुवा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रूपमा अघि बढाएको छ । गाउँघरमै पुगेर डाक्टरको टोलीले विरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान शुरु गरेको हो ।

मेडिकल सुपरिटेन्डेन्ट डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । यसले जिल्लाका विकट र दूरदराजका टोलबस्तीमा डाक्टरी सेवाको उपलब्धता सहज बनाइदिएको छ । स्वास्थ्यमा सबैको समान पहुँचको मूल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिवार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ ।

डाक्टर घिमिरेका अनुसार अभियानले विशेषगरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्नेछ । उनले दीर्घ रोगीलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताए । उनले आफूहरूको अभियान हरेक हप्ताको शनिवार घरमै पुगेर उपचार गर्ने अभियान रहेको बताए ।

घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान विरामीलाई उपचारका लागि अस्पतालसम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ ।

इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रूपमा अघि बढाएको छ ।