नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सरकारको ध्यानाकर्षण

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सरकारको ध्यानाकर्षण

कहिरन समाचार

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक–२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले शनिबार पत्रकार सम्मेलन गरी जन्मका आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तान नागरिकताबाट बञ्चित हुनु परेको भन्दै जतिसक्दो चाँडो विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको हो ।

आमाबाबु नेपाली नागरिक भए पनि कानुन अभावका कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष इन्द्रजित साफीले नेपालको संविधान जारी भएको झण्डै आठ वर्ष हुँदासमेत नागरिकतासम्बन्धी विवाद टुङ्गोमा नपुगेको उल्लेख गर्दै नेपालमा विदेशीलाई नागरिकता पाउन सजिलो र वास्तविक नेपालीले नागरिकता पाउन समस्याको भएको गुनासो गरे । उनले नागरिकता नभएकै कारण लाखौँ नेपाली उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनुपरेको बताए ।