यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि शुरू गर्ने तयारी

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि शुरू गर्ने तयारी

कहिरन समाचार

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा दिने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा शुरू गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख राजकुमार कपालीका अनुसार बिहान ८ बजेदेखि कार्यालय खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्नेछन् । लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न नपाउने र सेवाग्राही आएर सहज तरीकाले काम गरेर जान सक्ने उनले बताए ।

बिहानदेखि सेवा शुरू गर्ने विषयमा अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान ६ बजेदेखि लाममा बस्ने गरेको उनले बताए । सेवाग्राहीलाई बुझाउन नसकिएकाले १० बजेसम्म दुई सय जनाभन्दा बढी लाममा बस्ने गरेको उनले बताए ।

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, “समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई सेवा दिने गरिएको छ ।”

कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना र करारबाट २२ जना कर्मचारी कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए । सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उनले भने, “३ बजेपछि कार्यालय नै सुनसान हुन्छ ।”

यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रूपमा रहेको छ । पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत गएको छ । कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली शुरू गरे पनि सेवाग्राही घण्टौ‌ लाममा बस्नुपरेको छ ।