पहिलो अन्तर्राष्ट्रिय उडान भरेका महिला पाइलटलाई सरकारद्वारा स्वागत

पहिलो अन्तर्राष्ट्रिय उडान भरेका महिला पाइलटलाई सरकारद्वारा स्वागत

कहिरन समाचार

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक पाइलटलाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन् ।

काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरका हुन् । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि रासससँग कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए ।

महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । “पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उनीहरू महिला विमान चालक दल लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”, पर्यटनमन्त्री किरातीले भने ।

यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गरे ।

निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए ।

निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाएकी थिइन् । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका एयरहोस्टेस समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट छन् ।